चाँगुनारायण नगरपालिकाको १ अर्ब, ९०  करोड बजेट

४ बर्ष अगाडि

 

चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । बिहीवार नगरसभाको दोस्रो दिन उपप्रमुख विना बास्तोलाले आर्थिक वर्ष २०७८र०७९ को चाँगुनारायण नगरपालिकाले बजेट सार्वजनिक गरेकी हुन् । 

उपप्रमुख विना बास्तोलाले आगामी आर्थिक वर्षका लागि कुल बजेट एक अर्ब नब्बे करोड चौसट्ठी लाख चौरासी हजार दुई सय चौवन्न रूपैँया विनियोजन गरेकी छिन् । जसको एक अर्ब चौबिस करोड दुई लाख चौहत्तर हजार सात सय चौवन्न रूपैँया पूँजीगतमा पैसठ्ठि दशमलब शून्य पाँच प्रतिशत रहेको छ । 


चालूतर्फ छैसट्ठी करोड बयसठ्ठी लाख नौ हजार पाँचसय रूपैँया चौंतीस दशमलब शून्य नौ प्रतिशत विनियोजन गरेको उपप्रमुख बास्तोलाले जानकारी दिइन् । नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोतको रुपमा रहेको व्यवसाय रजिष्ट्रेसन, सिफारिश, माटो पानी ठेक्का, घर नक्सा पास दस्तुरबाट अठ्ठाईस करोड चौरासी लाख पाँच हजार प्रक्षेपित आन्तरिक आय अनुमान रहेको छ । 


वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट रु सत्र करोड पैँतालीस लाख र सशर्तबाट रु तेतीस करोड तीन लाख प्राप्त भएको छ ।  राजश्व बाँडफाँडबाट रु आठ करोड त्रियानब्बे लाख त्रिपन्न हजार र सवारी साधनको राजश्व बाँडफाँडबाट छ करोड दुई लाख सत्ताईस हजार प्राप्त भएको उपप्रमुख बास्तोलाले जानकारी दिइन् । 


चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको आफ्नै भवनका निर्माण लागि बार करोड विनियोजन गरेको छ । आगामी वर्षको समयावधिमा सम्पन्न हुने सो नयाँ भवन बाटै सेवा प्रवाह हुने जानकारी समेत दिएको छ । 

नगरसभाले भौतिक पूर्वाधारतर्फ सडक तथा पुल निर्माणका लागि पच्पन्न करोड छत्तीस लाख पैँसट्ठी हजार छयहत्तर विनियोजन गरेको छ । नगरमै रहेका बेरोजगार युवाहरुलाई लक्षित गरी मेयर उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत युवाको सम्बर्द्धन उद्यमशीलता प्रबर्द्धन कार्यक्रमका लागि रु ३ करोड यस वर्ष पनि निरन्तरता दिएको उपप्रमुखको भनाई छ । 

नगरभित्रका मुख्य मुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्न यसवर्ष रु पैँसट्ठी लाख विनियोजन गरेको छ । चाँगुनारायण नगरपालिकाको सडक तथा यातायात क्षेत्रको विकासका लागि सडकको निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधारसहित असी करोड चौरासी लाख छपन्न हजार दुई सय चौरानब्बे विनियोजन गरेको छ ।

बजेटमा एक घर, एक धारा कार्यक्रम अन्तर्गत नगरबासीहरुको खानेपानीमा पहुँच सुनिश्चित गर्न खानेपानीमा रु तेह्र करोड त्रियानब्बे लाख एकासी हजार आठ सय छयालीस विनियोजन गरिएको छ ।  सामुदायिक विद्यालयमा छात्राहरुको शिक्षा, बालविवाह निरुत्साहन र किशोरीहरूको सुरक्षित भविष्य निर्माणमा सहयोगका लागि बचत खाता छोरीको, सुरक्षा जीवन भरको कार्यक्रममा रु पच्पन्न लाख र प्राविधिक शिक्षालाई प्रोत्साहन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षामा कुल तीन करोड अठाइस लाख सत्तरी हजार बजेट विनियोजन गरेको उपप्रमुख बास्तोलाले जानकारी दिइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया