कांग्रेसमा देउवा र पौडेललाई रोक्ने प्रयास !

४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी विभाजनका बेलादेखि सबै कालखण्डमा विमलेन्द्र निधिको साथ र सहयोग रह्यो। कैयौँ प्रभावशाली र विश्वासपात्र नेताले छाड्दा उनी देउवासँगै थिए।

यस पटक भने उनले महाधिवेशनको मुखमा आफैँ उम्मेदवार बन्ने घोषणा दोहोर्‍याएका छन्। नेता निधिका अनुसार गत वर्षको साउन २९ गते नै उनले देउवालाई भेटेर त्यो जानकारी दिइसकेका थिए।

उनै नेता निधिले सोमवार नेताद्वय शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। कतिपयले कांग्रेसमा नयाँ ध्रुवीकरणले आकार लिन थालेको ठानेका छन्।

बीपी कोइराला र गणेशमान सिंहका छोराहरूसँग परामर्श गरेका निधि अर्का वरिष्ठ नेता महेन्द्रनारायण निधिका छोरा हुन्।

पार्टी सभापतिमा उठ्ने आकाङ्क्षा देखाएका कोइराला र सिंहसँगको छलफलपछि निधिले युवा नेताहरूसँग सामूहिक भेटघाट गरेका थिए। त्यसमा अधिकांश नेताहरू सभापति देउवाइतर खेमाका थिए।

देउवाका विश्वासपात्र निधिले देउवालाई नै चुनौती बन्न सक्ने आफ्नो अग्रसरमा साथ दिन ती युवा नेताहरूलाई आग्रह गरे।

छलफलमा सहभागी नेत्री सरिता प्रसाईँ भन्छिन्, “म सभापतिमा लड्दैछु भनेपछि हामीले दोस्रो पुस्तामा नेतृत्व आउँछ भने त त्यो ऊर्जाशील कुरा हो। राम्रो कुरा हो, 'गो अहेड' अघि बढ्नुहोस् भन्यौँ।”

उनका अनुसार निधिलाई शशाङ्क कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला ‘सबै सँगै बसेर सल्लाह गर्न’ सुझाव दिइएको थियो।

सहभागी नेताहरूका अनुसार निधिले ‘अघिल्लो महाधिवेशनमा देउवाले साथ दिन आग्रह गर्दै आउँदो महाधिवेशनमा आफूलाई साथ दिने वचन दिएको’ सुनाएका थिए।

तर देउवा निकटस्थ नेताहरूले उक्त कुरा अस्वीकार गरेका छन्। देउवा स्वयंले त्यसबारे केही बोलेका छैनन्।

कारण जेसुकै भए पनि अर्का नेता प्रदीप पौडेलले निधिको अग्रसरतलाई ‘पुस्तान्तरणको आफूहरूको पुरानो प्रस्तावमा उनको आगमन’ ठानेका छन्।

“सैद्धान्तिक रूपमा हामीले उठाउँदै आएको विषयमा उहाँ तयार हुनुभयो भन्ने हिसाबले तपाईँ अगाडि बढ्नुहोस्, थप छलफल गर्न सक्छौँ भन्यौँ,” पौडेलले बताए।

छलफलमा निम्त्याइएका धेरै युवा नेता अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको पक्षका थिए।बिबिसि 

४ बर्ष अगाडि

प्रतिक्रिया