काठमाडौँ - लगानी बोर्डको बैठकले दुई ठूला जलविद्युत् आयोजनाका लागि करिब ९७ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको छ ।
मंगलबार बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो तमोर विद्युत् आयोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाको लागि लगानी स्वीकृत गरेको हो ।
२८५ मेगावाट जडित क्षमताको माथिल्लो तमोर जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्र तमोर सानिमा इनर्जी प्रालिको नाममा छ ।
यस्तै, १३९.२ मेगावाट जडित क्षमता रहेको तल्लो मनाङ –मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन अनुमतिपत्र वुटवल पावर कम्पनी लिमिटेडसँग छ ।
बोर्ड बैठकले संखुवासभामा निर्माण हुने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न समझदारीपत्रको मस्यौदासमेत स्वीकृत गरेको छ ।
यो आयोजना निर्माणको जिम्मा यसअघि नै भारतीय कम्पनी सतलज लिमिटेडलाई दिने निर्णय भइसकेको छ । यही कम्पनीले संखुवासभामा ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ ।
प्रतिक्रिया