काठमाडौं, सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको बलात्कार प्रयास बिफल भएपछि स्थानिय १९ वर्षिय रोहित कुमार यादवले घाँटी रेटी हत्या गरेको घटना प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बलात्कार प्रयास बिफल भएपछि आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको प्रहरीले जनाएको हो ।
शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की नौं वर्षिया शिवानीकुमारी यादवको हत्या भएको अवस्थामा शव भेटिएको थियो । हत्यामा प्रयोग भएका हँसिया, बालिकाको दुई खुटाको बीचमा गाडिएको अवस्थामा मृत शरीर फेला परेको थियो ।
तीन दिन लगातारको प्रयास र अनुसन्धानपछि मुख्य अपराधी पक्राउ गर्न सफलता मिलेको एसपी राजेन्द्र धमलाले बताए । कुकुरले गरेको संकेत तथा घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा हत्यारा आइतबार राती घरमै लुकीबसेको अवस्थामा पक्राउ परेको उनले जानकारी दिए ।
उनका अनुसार बाख्रा चराउन निस्केकी शिवानी आँप बगैचामा पुगेपछि आँप टिप्न लागेकी थिइन् । सोही स्थानमा घास काट्दै गरेका रोहितले एकान्तमा देखेर मुख थुनी बाँसघारीमा लगि लडाएर बलात्कारको प्रयास गरेका थिए । तर, शिवानीले आमालाई भनिदिन्छु भन्दै चिच्याउन थालेपछि पहिचान खुल्ने डरले हँसियाले घाँटी रेटेर मारेको रोहितले स्वीकारेका छन् ।
प्रहरीले रोहितलाई सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया