एजेन्सी - युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए ।
खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।
दोस्रो हाफको ५१ औं मिनेटमा जर्मनीका काइ हाभर्जले र ६० मिनेटमा रोविन गोसेन्सले गोल गरे । ६७ औं मिनेटमा पोर्चुगलका डिएगो जोताले गोल गरे पनि जितको लागि पर्याप्त भएन र खेल ४–२ को नतिजामा सकियो ।
जर्मनी र पोर्चुगलको समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ । अन्तिम १६ मा प्रवेशको लागि यो समूहका सबै टोलीको सम्भावना रहेको छ ।
साथै दोस्रो खेलमा स्पेन बराबरीमा रोकिएको छ । समूह उफ अन्तर्गत गए राति भएको खेलमा स्पेनलाई पोल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।
२५ औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिए पनि स्पेनले जोगाउन सकेन । ५४ औँ मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गरेका हुन् । पहिलो खेलमा स्लोभाकियासँग २–१ ले पराजित भएको पोल्याण्डले यो खेलबाट पहिलो अंक जोडेको छ ।
यस्तै पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले यो खेलमा पनि जित निकाल्न सकेन । दुई खेलमा एकमा जित र एकमा बारबरीसहित चार अंक जोडेर स्वीडेन समूहको शीर्ष स्थानमा छ ।
यस्तै विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । साबिक उपविजेता समेत रहेको फ्रान्स समूह एफ अन्तर्गतको खेलमा हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाको गोलबाट हंगेरीले सुरुवाति अग्रता लियो । पछि परेको फ्रान्सका लागि ६६ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन् ।
पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको थियो भने पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो । दुई खेलबाट चार अंकसहित फ्रान्स समूहको शीर्ष स्थानमा छ । समान तीन–तीन अंक भएका जर्मनी र पोर्चुगल दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया