महाकाली नदी गाँउमा पस्दा १५ घर डुवानमा, खोलाले बगाएर एकको मृत्यु

५ बर्ष अगाडि

महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका १२ का १५ घर डुवानमा परेका छन । सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी गाउँ पसेको हो ।

सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए ।  “बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ । त्यतिबेला कसैले सुनेनन्” उनले भन्नु भयो,“अहिले  गाउँ नै डुवानमा प¥यो ।”

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ ।  
तारजालिमा ढुङ्गा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले जानकारी दिए ।  भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए । 

गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ ।  सडक भत्किएपछि बाढी बस्तीमा आउने त्रास बढेको छ ।महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । नदीमा जति बेला पनि पानीको मात्रा बढेर धनजनको क्षति हुने जनाउँदै नदीमा दाउरा सङ्कलनका लागि नजान र सचेत भएर बस्न सतर्क गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।  नदीको भँगालोले खल्ला भएर ब्रह्मदेब जाने बाटो अबरुद्ध हुन पुगेको छ । बाटोसम्म पानी भरिएपछि स्थानीयको आवतजावत रोकिएको छ ।

सो नदीमा पानीको बहाव बढेपछि खल्ला भएर ब्रह्मदेब आउने नदीको भँगालो बाटोसम्म पुगेको छ । भँगालो बाटोसम्म पुगेपछि आवतजावत रोकिएको रेडक्रसकर्मी करबीर चन्दले बताए । भीमदत्त  ९ मा पर्ने खल्ला सहित टुँडिखेल र मुसेट्टी महाकाली नदी किनारमा छन । तीन बस्तीमध्ये मुसेट्टी र खल्लामा महाकाली नदीको बाढी बस्तीमा पस्ने खतरा हुन्छ  । यसैविच महाकाली नदीमा पानी प्रवाह बढेपछि दोधारा चाँदनी नगरपालिकामा जोखिम बढेको छ । नगरपालिकाकाको वडा नं १० का कुतियाकवर र शान्ति टोल क्षेत्रमा बाढीको खतरा बढेको छ । नदीको प्रवाहले जोगबुडा नदी थुनिएर शान्ति टोल डुबानमा परेको छ । जोगबुडा नदी थुनिएपछि कुतियाकवरमा पनि बाढी पस्ने चिन्ता बढेको छ ।

स्थानीयबासी महेश घिमिरे महाकालीले जोगबुडा थुनिँदा नदी किनारको १०÷१२ बिगाह खेतीयोग्य जमिन डुबानमा परेको जानकारी दिए । बाढीका कारण डुवानमा परेका घरको नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतले अनुगमन समेत गरेका छन ।


यस्तै स्याङ्जा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ४ निवासी ५१ वर्षिय मन बहादुर थापाको आँधिखोला तर्ने क्रममा चिप्लिएर लड्दा मृत्यु भएको हो ।

आँधिखोलास्थित ठूलो फुलबारी तर्फबाट गाईनेघाट हुदै लामागे तर्फ जाँदै गर्दा आँधिखोला तर्ने क्रममा चिप्लिएर लडेका थिए । चिप्लिएर लडेका थापाको आँघिखोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ । 

मृतक थापा नेपाली काँग्रेस स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं। ४ का सह–सभापति कुलबहादुर थापाका छोरा हुन् । 
थापाको शब पोष्टमार्टमका लागि स्याङ्जा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया