महाकाली नदीको बहाव घट्दै, पहिरोमा पुरिएर एक महिलाको मृत्यु

५ बर्ष अगाडि

महाकाली नदीमा जल सतह घट्दो क्रममा रहेको छ । शुक्रबार रातिसम्म बढ्दै गएको महाकाली नदीमा पानीको बहाव शनिबार बिहानदेखि घट्दै गएको हो । सदरमुकाम खलङ्गा झोलुङ्गे पुल नजिक पानीको सतह घटेर ४।२ मा झरेको छ । गएराति १० बजे सो स्थानमा पानीको बहाव ४।५ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको थियो ।

“पानीको बहाव कम हुँदै गएको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले भने, “तर खतरा भने कायमै छ ।” प्रहरीले निरन्तर नदीछेउछाउ गएर खतराको बारेमा जानकारी गराइरहेको छ । सर्वसाधारणलाई नदी किनारमा नजान आग्रह गरिरहेको उनको भनाइ छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए । 

दार्चुलाको महाकाली नगरपालिका तथा मालिकार्जुन, लेकम, व्याँस र दुहुँ गाउँपालिकालगायत क्षेत्रमा महाकाली नदी किनारमा स्थानीयवासीलाई जान नदिन प्रहरीले सबै युनिटहरुलाई खबर गरेको छ । 

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । मनसुन जारी रहेकाले अहिले नै कम भयो भन्दै नदी किनारतिर काठ निकाल्न, बालुवा झिक्न र माछा मार्ने काम नगर्न नगराउन प्रजिअ जोशीले आग्रह गरेका छन् । शुक्रबार महाकाली नदी नियन्त्रण आयोजनाको बङ्गाबगड क्षेत्रको निर्माणाधीन तडबन्ध माथि नदी पुगेको थियो । महाकाली नदी निर्माणाधीन तटबन्धमा पुगे पनि क्षति नभएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए । 

यस्तै तलकोट गाउँपालिका–६ रजाडामा पहिरामा पुरिएर एक महिलाको मृत्यु भएको छ । 

धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईँको पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रूपक खड्काले बताए । उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर दमाईँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ 

५ बर्ष अगाडि

प्रतिक्रिया