चीनसँग सीमा जोडिएको  हिल्सामा पहिरो,  खानेपानीको पाइपलाइन बगायो

५ बर्ष अगाडि

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ । हिल्साको नौमूलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले पाइप लाइन बगाउँदा खानोपानी अवरुद्ध भएको छ । 

शुक्रबार बेलुका खानेपानीको मुहान रहेको नौमूलेमा माथिबाट आएको पहिराले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताए । चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा नब्बे घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइपलाइन बगाउँदा पानीको समस्या भएको उनले जानकारी दिए । 

सीमा सुरक्षा प्रहरी चौकी (विओपी) का सुरक्षाकर्मीले पनि पहिले ट्याङ्कीमा भएको पानी प्रयोग गरिरहेका र दुई दिनपछि समस्या हुने देखिएको छ । बस्ती तलको कर्णाली नदीको पानी पहिराले धमिलो भएका कारण पिउन योग्य नरहेको उनले बताए । 

पहिराले खानेपानीका पाइप लाइनका साथै बीस मिटरभन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ । पहिराको लेदो धेरै भएको कारण तत्काल त्यसलाई मर्मत गर्न सकिने अवस्था नरहेको सुरक्षा चौकीले जनाएको छ । हाल हिल्सामा २२ सर्वसाधारण र १५ सीमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् । पहिराबाट भएको क्षतिको विवरण भने आएको छैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया