जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।
धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।
यस्तै चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीयवासी राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयोए ।
शुक्रबार करीब ११ः०० बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि आज थप खोजतलास गर्दा पोखरीमा बच्चा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
इँटाभट्टाले जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
प्रतिक्रिया