धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो ।
त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए।
“पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहेका छन्”, उनले भने, “थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।” नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।
यस्तै निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । जिल्लाको ताराखोला गाउँपालिकामा घर माथीबाट पहिरो खस्दा वडा नम्बर–५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विकको, मिठे विकको, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन् ।
यस्तै, वर्षात्का कारण बागलुङ नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ । माया जिसीको इटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिए ।
बागलुङ नगरपालिका १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाडा बस्ने विशाल बिकको घर जोखिममा रहेकाले विस्थापित भएका छन् । गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो खस्दा ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित हुनुभएको र सोही स्थानको डाँडाखेतमा देवबहादुर खत्रीको घर अघीबाट पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाइ छ
प्रतिक्रिया