काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बिहीवार बिहान साढे ११ बजे उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
अध्यक्ष यादवका अनुसार बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने छ ।
जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षीय बैठक बस्न लागेको हो । ठाकुरसहित नेता महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बैठकमा नबोलाएको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बताए ।
उनीहरु पार्टीबाट निष्कासित भइसकेकाले बैठकमा नबोलाएको बताउँदै उनले भने, जो व्यक्ति पार्टीमै छैनन्, बैठकमा बोलाएकै छैनन, ती व्यक्तिले बैठकको निर्णय मान्नु नमान्नुमा कुनै फरक पर्दैन ।
अध्यक्ष ठाकुरलाई कार्यकारिणी समितिको बैठक नरहेको भन्ने अधिकार नरहेको उनले बताए । ५१ सदस्यीय मध्ये ४३ जनालाई बैठकको बारेमा जानकारी पठाइएको पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।
निर्वाचन आयोगले महन्थ ठाकुर पक्षीय नेतामाथि गरिएको कारबाहीलाई मान्यता नदिएपछि आगामी रणनीति बनाउन यादव पक्षीय बैठक बस्न लागेको बुझिएको छ । बैठकले जसपाबाट सरकारमा सहभागी नेता राजेन्द्र महतो लगायतलाई सोधिएको स्पष्टीकरणमाथि निर्णय लिने छ ।
प्रतिक्रिया