बाढी पहिरोबाट थप जनधनको क्षति रोक्न समन्वयात्मक ढंगले कार्य गर्नु : प्रधानमन्त्री

५ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण हाल उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति रोक्न समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । 

सरकारले विपद् पुर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको पनि प्रधानमन्त्रीले बताए । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबार सम्पन्न छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपांगता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए । यसैगरी ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु पर्ने पनि बताए । 

उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीय स्तरमा बन्ने संशाधन प्रयोग गर्न पनि उनले जोड दिए । राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । 

यसैगरी तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । यसैगरी पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्नुपर्ने निर्देशन पनि प्रधानमन्त्रीले दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया