मेलम्ची : उद्धार र राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन सभामुखकाे आग्रह

५ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा हेलिकोप्टरबाट अवलोकन गरेका हुन् ।

सभामुखसँगै हेलिकोप्टरबाट निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, ‘हामीले मेलम्चीभन्दा धेरै माथि पुगेर पहिरो कहाँबाट खसेको रहेछ भनेर पत्ता लगाउने कोसिस गर्यौं, तर पहिरो खसेको मुहान पत्ता लाग्न सकेन ।’

सिन्धुपाल्चोकको मेलम्ची खोलामा मंगलबार साँझदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिका लगायतका स्थानमा निकै ठूलो क्षति भएको छ । बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । 

उनले पहिलो प्राथमिकतामा उद्धार र त्यसपछि राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन् । 

निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले बाढीपहिरोले भौतिक पूर्वाधारमा ठुलो क्षति भएको भन्दै त्यसको पुनस्निर्माणका लागि पनि योजना बनाएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । झोलुङ्गे पुल, पक्की पुल लगायत ‘कनेक्टिभिटी’ मा पनि ठुलो क्षति भएको जनाउँदै उनले तिनको पुनस्निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

आफू काठमाडौं फर्किएर यसबारे संघीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए । उनले बाढीपहिरो पीडितका लागि तत्काल गाँस, बास र कपासको खाँचो रहेको भन्दै सहयोगका लागि सरकार र दाताहरूलाई आग्रहसमेत गरेका छन् ।

सभामुख सापकोटा निवर्तमान प्रतिनिधिसभामा सिन्धुपाल्चोक– १ बाट विजयी भएका थिए ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया