काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप समस्त उद्योगी तथा व्यवसायीलाई उपलब्ध गराइ दिन चेम्बरले आग्रह गरेको छ ।
मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु बन्द अवस्थामा रहेको र अर्को तर्फ कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएका कारण यस्तो आग्रह गरिएको हो ।
उद्योग तथा व्यवसाय सञ्चालनका सिलसिलामा अग्रपङ्क्तिमा रही कार्यरत समग्र निजी क्षेत्र, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरू, चेम्बर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्बरका पदाधिकारी तथा सदस्यहरू, चेम्बर अन्तरगतका समस्त किराना व्यवसायीहरू, उद्योगीहरू एवम् उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदुरलाई दुवै चरणको खोपको व्यवस्था गर्न नेपाल चेम्बर अफ कमर्सले सम्बन्धित निकाय समक्ष आग्रह गरेको छ ।
कोरोना महामारीले विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने हुन्छ ।

प्रतिक्रिया