सिन्धुपाल्चोकको मेलम्चीमा बाढी र पहिरोमा फसेकाहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाटै उद्धार थालेको छ ।मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेको छ ।
होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टरमार्फत सेनाले उद्धार गरेको हो ।
मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् ।स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेपत्ताहरुको यकिन विववरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको भएको प्रजिअ पोखरेलले बताए ।
यस्तै प्रभाबित क्षेत्रको स्थलगत अध्ययनका लागि सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको जाँदैछन् । हेलिकोप्टर यसअघि नै उद्धारका लागि गइसकेकाले सभामुख सापकोटा गाडीबाट सिन्धुपाल्चोक जान लागेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सभामुख सापकोटा मेलम्ची पुगेर स्थलगत अध्ययन गर्ने र आजै साँझ काठमाडौँ फर्किने न्यौपानेले बताए ।
प्रतिक्रिया