नारायणी नदी इतिहासकै उच्च विन्दुमा, कोशी ब्यारेजको १२ ढोका खुला !

५ बर्ष अगाडि


नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । 

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताए । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । 

सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए । रायले भन्नुभयो, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।” यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उनले जानकारी दिए । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । 

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ । 

मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।


उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’
सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।


पहिराले घर पुरिँदा किशोरको मृत्यु
पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गरे  । शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ । घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिए । लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् । 

कास्कीमा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु
अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । हिजो राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको र मुचुल्का कार्य आज गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ । पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेको बताइन्छ । 

जिल्ला प्रशासन कार्यालयले पनि हिजो साँझ सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले नदी किनारमा बाढी, डुबान हुने तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा पहिरो जनन सक्ने हुँदा सचेत र सतर्क रहन अनुरोध गरेको छ । विपद्जन्य घटनाको उच्च जोखिम भएमा वा कुनै अप्रिय घटना घटेमा प्रशासनलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया