युरोकप : रोनाल्डोको नयाँ कीर्तिमान, जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

४ बर्ष अगाडि

एजेन्सी - युरोकप अन्तर्गत गएरातिको खेलमा पोर्चुगलले सानदार जित हासिल गरेको छ । घरेलु टीम हंगेरीलाई पोर्चुगलले ३–० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने गुरेरो एक गोल गरे ।

गुरेरोले खेलको ८४ मिनेटमा गोल गरेर घरेलु मैदानमा खचाखच भरिएको हंगेरीका दर्शकलाई स्तब्ध बनाए भने खेलको ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा लगे ।

यसैगरी रोनाल्डोले दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो र टीमका लागि तेस्रो गोल गरे। यससँगै रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा  रेकर्ड बनाएका छन् । उनले युरोकपमा सर्वाधिक ११ गोल गरेका छन् । 

यस्तै फ्रान्सले जर्मनीलाई १-० गोलको अन्तरले पराजित गरेको छ । योसँगै विश्वकप विजेता फ्रान्सले प्रतियोगितामा विजयी यात्रा सुरुआत गरेको छ । ग्रुप अफ डेथ मानिएको समूह एफको खेलमा फ्रान्सको जितमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक सावित भयो ।

खेलको २० औं मिनेटमा फ्रान्सले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको विश्वस्तरीय पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर म्याट्स हमल्स क्लियर गर्ने प्रयासमा आत्मघाती गोल गर्न पुगेका थिए । हमल्स युरोमा जर्मनीका लागि आत्मघाती गोल गर्ने पहिलो खेलाडी समेत बने ।

गोलका लागि दुवैतर्फबाट प्रयास गरे पनि फिनिसिङमा चुक्दा गोल हुन सकेनन् । यद्यपि, फ्रान्सका किलियान एम्बाप्पे र करिम बेन्जिमाले गरेको दुई गोल अफसाइडका कारण रद्द भएका थिए ।

प्रतियोगिताको तीन पटकको च्याम्पियन जर्मनी पहिलो पटक युरोपियन फुटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया