सातवटै प्रदेश सरकाले गरे बजेट सार्वजनिक, कसको कति ?

५ बर्ष अगाडि

काठमाडौं - सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि मंगलबार बजेट पेश गरेका छन् । 

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । 

आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए । 

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ । 

मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ । प्रदेश नम्बर दुई सरकारको बजेटमा पनि कोरोना महामारी नियन्त्रण, सिंचाई र कृषिलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । 

कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ । 

यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । बजेटमा सरकारले स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरको छन् । जसमा चालुतर्फ २४ अर्ब ९३ करोड ७३ रहेको छ भने पुँजीगत २१ अव १७ करोड रहेको छ । 
 

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । 

पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।  सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको भन्दा बढाएर बजेट ल्याएको हो ।

 यस्तै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कूल ३० अर्ब ३३ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका छन् । चालु आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको थियो । 

प्रदेश सरकारले ल्याएको कूल बजेटमा चालु खर्चतर्फ १० अर्ब ६६ करोड पुँजीगततर्फ १७ अर्ब ६५करोड र अन्तर वित्तीय हस्तान्तरणतर्फ १ अर्ब र वित्तीय व्यवस्थातर्फ १ प्रतिशत रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया