बाढीले १५ घर उच्च जोखिममा,पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

५ बर्ष अगाडि

मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । 

लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । ‘‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो’’, उनले भने । अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ । 

खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताए । 

यस्तै सोमबार रातिदेखिको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइँबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर आइरहेका दर्जनौं सवारी साधनबीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ ।

सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरीरहेको स्थानीयवासी मोहन मल्लले जानकारी दिए । जिल्लामा गएरातिदेखि लगातार वर्षात् भइरहेको छ भने ठाउँठाउँमा पहिरा आएर सडक अवरुद्ध भएको बताइएको छ । पहिराका कारण अवरुद्ध भएको भएको राजमार्ग सञ्चालनका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया