कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।आज विहान सकिएको खेलमा अर्जेन्टिना र चिलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
अर्जेन्टिनाका लागि लियोनल मेस्सीले ३३ औं मिनेटमा फ्रिकिक गोल गर्दै अर्गेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा चिलीले बराबरी गोल गरेको थियो ।
यो सँगै मेस्सीले अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्याएका छन् ।मेस्सीले उक्त गोल लिजेन्ड डिएगो म्याराडोनाको नाममा समर्पित गरेका थिए ।
यस्तै कोपा अमेरिकाकै अर्काे खेलमा पाराग्वेले विजयी शुरुवात गरेको छ । समूह ए मा रहेको पाराग्वेले बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो ।
इर्विन सावेदाले गोल गर्दै बेलिभियालाई शुरुमै अग्रता दिलाए । पाराग्वेका खेलाडीले फल गरेपछि बोलिभियाले पेनाल्टी पाएको थियो । रेफ्रीले रिभ्यु गरेपछि पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई इर्विन सावेदाले नवौं मिनेटमा गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।
६२ औं मिनेटमा एलेक्जेन्ड्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई बराबरीमा ल्याएका थिए ।
त्यसलगत्तै एन्जेल रोमेरोले ६५ औं मिनेटमा गोल गरेपछि पाराग्वे २–१ले अघि बढेको थियो । ८० औं मिनेटमा उनै एन्जेलले व्यक्तिगत दोस्रो गोल गर्दा पाराग्वे ३–१ गोल अन्तरले विजयी भयो ।
प्रतिक्रिया