गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख सीता कुमारी पौडेलले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । उनले आज शनिबारसम्मको समयसीमा तोकेर सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखले आह्वान गरेको दुई घण्टामै प्रदेश सभाका विपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत सदस्यहरुको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनले आफुसँग बहुमत रहेको भन्दै मुख्यमन्त्री नियुक्त गर्न बहुमत सांसदको हस्ताक्षर बुझाएका छन् । प्रदेश प्रमुख पौडेलले सरकार गठनको प्रक्रिया शनिबार बढाउने बताएपछि शुक्रबार सरकार बन्न सकेन् ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङे सहितको हस्ताक्षर सहित ३१ बहुमत सदस्यहरुले काँग्रेस नेतृत्वमा सरकार गठनका लागि सहमत भएका हुन् ।
मुख्यमन्त्री गुरुङले गत बिहिबार विश्वासको मत लिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए । स्वतन्त्र सांसद दिपक मनाङे अनुपस्थित रहेका थिए । अहिले आएर उनै सांसद मनाङेले विपक्षी गठबन्धनमा सहयोग गरेकाले विपक्षीमा बहुमत पुगेको हो ।
प्रतिक्रिया