युरो कप २०२१ को उद्घाटन खेलमा इटालीले जित हासील गरेको छ। रोमको ‘इस्टाडियो ओलम्पिको’मा भएको गए रातिको खेलमा इटालीले टर्कीलाई ३–० गोलले पराजित गरेको हो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले तीन गोल गर्न सफल भएको हो।
दोस्रो हाफको ५३औं मिनेटमा टर्कीका डिफेन्डर मेरी डेमिरालले आत्मघाती गोल गर्दा इटालीले खेलमा अग्रता लिएको थियो। त्यसपछि खेलको ६६औं मिनेटमा इटालीले अग्रता दोब्बर बनायो। फुल ब्याक स्पिनाजोलाको पासमा स्ट्राइकर सिरो इम्मोबिलेले ‘पोचर्स’ गोल गर्दा इटालीले अग्रता दोब्बर बनाएको हो।
इटालीको लागि खेलमा लोरेन्जो इन्सिग्नेले तेस्रो गोल गर्न सफल भए। यसपटक भने इम्मोबिलेको पासमा नापोलीका स्ट्राइकर इन्सिग्नेले उत्कृष्ट गोल गर्दा इटालीले ३–० गोलको जित दर्ता गरेको हो।
यस जितसँगै इटाली समुह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ। इटाली र टर्कीसहित समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स सम्मिलित छन्।
यस्तै युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।
आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ । डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९ः४५ बजे हुनेछ । समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२ः४५ बजे हुनेछ ।
प्रतिक्रिया