नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । यसअघि अनुमान गरिएको मनसुन भित्रिने मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो ।
नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो । यस वर्ष प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा एकै पटक वर्षा हुन थालेको छ ।
न्यून चापीय क्षेत्र फैलिने क्रममा रहेकाले अर्को सातासम्ममा नेपालको सम्पूर्ण क्षेत्रमा पुग्ने र त्यसपछि अधिकांश भू–भागमा केही दिन अविरल वर्षा हुने महाशाखाको अनुमान छ । आगामी साता मनसुन अझ सक्रिय भएर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा समेत भईरहेको अवस्था छ ।
महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया