काठमाडौं– मनसुन भित्रि नै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुक सामु सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविदले गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदर भन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । “मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्र बाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ”, पोखरेलले भने, “त्यसलाई केन्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य योजना अघि बढाएका छौँ ।”
विगतको तथ्याङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।
सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमान सँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ ।
प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, “विगतका वर्षको अनुभव हेर्दा साउन असोजमा बढी प्रभाव पारेको देखिएको छ ।” उनले बाढीपहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाउँछन् ।
प्राधिकरणले पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पुर्याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउँछन् । यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया