सुरक्षाकर्मी र स्थानीयबीच झडप, ७ जना प्रहरी घाइते

५ बर्ष अगाडि

काठमाडौं– रौतहटमा सोमबार राति सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको छ ।  निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सोमबार राति  झडप भएको प्रहरीले जनाएको छ । झडपमा  डीएसपीसहित ७ प्रहरी घाइते भएका छन् । झडपमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गरुडा नगरपालिका–२ गेडाहीगुठीका जयलाल सहनीका छोरा, खहेरुराय यादवको छोरी र राजाराम सहनीको छोराको विवाहका क्रममा डिजे बजाएर भिडभाड गरिएको भन्दै सम्झाउन गएको प्रहरी टोलीलाई स्थानीयले बेलुकी ९ बजे ढुंगामुढा गरेको थियो । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।

सुरुमा इलाका प्रहरी गरुडाले दुई सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भिडभाड नगर्न सम्झाएको थियो । तर स्थानीयले उनीहरूलाई घेराबन्दी गरेपछि डीएसपी द्वारिका घिमिरेसहितको टोली पुगेको थियो । आफ्ना सुरक्षाकर्मीको उद्धार गरेर फर्कंदै गरेको टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेको डीएसपी घिमिरेले बताए ।

‘गाउँमा तीन बेग्ला बेग्लै स्थानमा विवाहका लागी धुमधामले डिजे बजाएको थाहा पाएर बन्द गर्न भनेका हौं,’ उनले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न निर्देशन दिई प्रहरी फर्किने क्रममा उल्टै ढुंगा प्रहार गरे ।’

झडपमा डीएसपी घिमिरेको टाउकोमा समान्य चोट लागेको छ । त्यस्तै अन्य ६ प्रहरी समान्य घाइते भएको उनले जानकारी दिए । झडपमा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए ।

रौतहटमा कोरोना संक्रमणका कारण जेठ २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया