एक कप चियाको मुल्यमा एक छाक दालभात, समस्यामा परेकालाइ रोजगारी पनि !

५ बर्ष अगाडि

नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा गत आठ महिनादेखि 'अन्जनी माता रसोईले' प्रति छाक २० रुपैयाँमा मानिसहरूलाई खाना खुवाउँदै आएको छ।

कोभिड महामारीबीच बिरामी र कुरुवालाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा 'सुन्दर काण्ड मित्रमण्डल'ले सञ्चालन गरेको अन्जनी माता रसोईमा दैनिक ७०० भन्दा बढीले खाना खाने गरेको बताइन्छ।

कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सबैजसो होटेल तथा रेस्टुराँहरू बन्द रहेको अवस्थामा अस्पताल परिसरभित्रै सुलभ दरमा खाना खान पाउँदा बिरामी कुरुवाहरूले खुसी व्यक्त गरेका छन्।

भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन्।

त्यस्ता बिरामी र कुरुवालाई लक्षित गरेर गत कार्तिक १० गतेदेखि सुन्दर काण्ड मित्रमण्डलले सुलभ दरमा खानाको व्यवस्था गरेको हो। 

बिरामीलाई दालको रस र जाउलो निःशुल्क उपलब्ध गराउँदै आएको रसोई व्यवस्थापकहरू बताउँछन्।त्यस्तै रकम नहुनेलाई निःशुल्क भोजन पनि गराइने मित्र मण्डलका सदस्य प्रशान्त विष्टले बताए। 

आर्थिक अभाव भएर उपचारमा समस्या भएका बिरामीका आफन्तलाई पनि रसोईले रोजगारी दिएको छ।

१६ वर्षीय छोराको दुवै मिर्गौला खराब भएर भेरी अस्पतालमा डाअलसिस गराउँदै आएकी बढैयाताल बर्दियाकी मखमली परियार पनि हाल रसोईमा काम गर्छिन्।

आफूसँग उपचार खर्च पनि नभएको र निषेधाज्ञाका कारण हप्ताको दुई पटक घर जानरआउन गाह्रो भएपछि रसोईमा काम गर्न थालेको मखमलीले बताइन्।बिबिसि 

५ बर्ष अगाडि

प्रतिक्रिया