आठ वर्षदेखि अलपत्र पासागाड खोलाको पुल

४ बर्ष अगाडि

छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाड खोलाको पुल पनि आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभागको लापरवाहीका कारण पुल निर्माणको काम अधुरो बनेको हो । छिन्चु–जाजरकोट सडकको अधिकांश खोला र नदीमा पक्की पुल निर्माण भइसकेका छन् तर गलत डिजाइनका कारण ठेक्का सम्झौता भएको आठ वर्ष बित्दासमेत पासागाड खोलाको पुल निर्माण शुरु हुनसकेको छैन । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीले पुल निर्माण अलपत्र परेको हो ।

कन्सल्टेन्सीले हचुवाका भरमा पुलको डिजाइन गर्दा निर्माण अलपत्र परेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । पुल निर्माणका लागि आठ वर्षअघि रु तीन करोडमा लुम्बिनी÷आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको उनले बताए। “शुरुमा पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल मिलेन । पुलको डिजाइन एक र निर्माणस्थलको लोकेशन अर्को हुँदा काम गर्न समस्या भएको हो”, उनले भने ।

आइएमई आरसी कन्सल्टेन्सीले रु सात लाखमा पुलको डिजाइन गरेको थियो । कम्पनीले ४६ मिटर लम्बाइको पुलको डिजाइन गरे पनि पासागाडमा पुल बनाउने दूरी २५ मिटरभन्दा बढी छैन । आठ वर्षअघि डिभिजन कार्यालयका प्राविधिकले निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो ।

डिभिजन प्रमुख झाका अनुसार सडक विभागले उक्त डिजाइनलाई रद्द गरी नयाँ डिजाइन गरिसकेको छ । नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दरअनुसार निर्माण गर्न ठेकेदारले नमानेपछि पुलको काम अलपत्र परेको उनले बताए । “पुरानो दरअनुसार लागत घट्दा निर्माण कम्पनीले काम गर्न सक्ने अवस्था छैन”, उनहाँले भने । नयाँ डिजाइनअनुसार करिब रु तीन करोडको लगानीमा २५ मिटरको पुल बन्ने लागत उठेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया