बुटवल– नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, बुटवलमा कार्यरत मजदूरहरू पारिश्रमिक वृद्धि गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग सम्वोधन गर्न पटक–पटक व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नगरेको भन्दै गएको शुक्रबारदेखि लिमिटेडमा कार्यरत कर्मचारीहरूले सात बुँदे माग राख्दै हडताल गरेका छन् ।
हाडतालका कारण विगत ६ दिनदेखि कम्पनीको सम्पूर्ण काम पूर्ण रूपमा ठप्प छ । मजदूरहरूले अहिले खाइपाई आएको तलबका आधारमा ५ हजार र मंहगी भत्ता ३५ सय गरी ८ हजार पाँच सय वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएका अन्य भत्ताहरु शतप्रतिशत वृद्धि हुनुपर्ने, कम्पनी भित्र क्यान्टिनको व्यवस्था, जोखिम भत्ता, आवास, कर्मचारीहरुलाई कम्पनीमा शेयर र कर्मचारीहरूलाई ड्रेसको व्यवस्था गरिनुपर्ने भन्दै संघर्षमा उत्रिएका हुन् ।
अखिल नेपाल औद्योगिक मजदुर यूनियन नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष भुवन गिरीले आफूहरूका माग पूरा नभएसम्म हडताल फिर्ता नहुने बताए । ‘सरकारको श्रम ऐन–२०७४ को दफा ११६ को उपपफा २ अनुसार हाम्रा माग छन्’ गिरीले भने, ‘२०७३ सालदेखि हाम्रो तलब वृद्धि भएको छैन ।
यहाँ १ सय ७८ मजदूरहरू कार्यरत छन् । कम्पनीको प्रमुख व्यवस्थापक भारतीय नागरिक राजेश अग्रवाल छन । उनले कम्पनीप्रति नेपाली कामदारप्रति कुनै सदभाव नदेखाएको मजदूरहरूको आरोप छ ।
२०४२ सालमा स्थापना भएको कम्पनीले नेपालकै ठूला कालीगण्डकी जलविद्युत आयोजना, तिनाउ पावर कम्पनी, चमेलिया विद्युत आयोजनका काम गरिसकेको छ । कम्पनीले बार्षिक दुई अर्बको काम गर्दै आएको छ ।
कम्पनीका अध्यक्ष रतनसंचार श्रेष्ठले मजदुरका मागहरूको विषय हेर्ने काम व्यवस्थापकको भएको भन्दै पन्छिए । व्यवस्थापनक अग्रवालले छलफलका लागि आफू तयार रहेको प्रतिक्रिया दिए । ‘राज्यले दिएको श्रम ऐन भन्दा हाम्रो कम्पनीमा काम गर्ने मजदुरको तलब दोब्बर छ’ अग्रवालले भने, ‘छलफल गरी बोडले दिएको लिमिट अनुसार तलब वृद्धि गर्न सकिन्छ ।’
प्रतिक्रिया