अवैध ५५ हतियार बुझाइए, हतियार संकलन अभियान अझै जारी

७ बर्ष अगाडि

रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिका १ र २ मा रहेको वन तथा बन्यजन्तु संरक्षण समितीले गाँउलेहरुबाट संंकलन गरेको ५५ थान अवैध हतियार जिल्ला प्रशासन रुकुम पुर्वलाई बुझाएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वमा एक कार्यक्रम आयोजना गरी अवैध रुपमा रहेको हतियार बुझाइएको हो । ढोरपाटन सिकार आरक्ष पनि नजिकै रहेको रुकुम पुर्वमा बन्य जन्तुको चोरी सिकारी बढ्न सक्ने र स्थानीय स्तरमा हुन सक्ने हिंसात्मक गतिबिधिलाई रोक्नका लागी पुथाउत्तर गंगा गाँउपालिकामा रहेको बन तथा बन्यजन्तु संरक्षण समितीले बिगत आठ बर्ष देखीको पहलमा स्थानीयबाट हतियार संकलन गर्न सफल भएको बन्य जन्तु संरक्षण समितीका संरक्षक लक्षिप्रसाद पुनले बताउनुभयो ।

लामो समयको प्रयासपछि गाउँलेबाट हतिरयार संकलन गरी प्रशासनमा बुझाइएको पुनले जानकारी दिनुभयो । पर्यटनको विकास गर्न बन्दुक नहटाएर सम्भव नभएपछि गाउँमै स्थानीय वन तथा वन्यजन्तु संरक्षण समिति गठन गरेर हतियार संकलनमा लागिएको र सफल भएको समितिका अध्यक्ष अमरधन पुनले बताउनुभयो । समितिका संयोजक अमरधन पुन सचिव धनीमान पुन र संरक्षक लक्ष्मीप्रसाद पुनले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई एकमुष्ट हतियार बुझाएका हुन् ।

जैविधि विविधता र भावि पुस्ताका लागि गाउँलेले ठूलो परिमाणको हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । हतियार संकलन गर्ने जिल्ला प्रशासन कार्यालयको अभियान जारी रहेको र यो निरन्तर चल्ने प्रजिअ शर्माको भनाई छ । मैकोट गाउँ ढोरपाटन सिकार आरक्षसँगै जोडिएको छ । गाउँका बन्दुक प्रशासन कार्यालमा बुझाइएपछि अब चोरीसिकार कम हुने विश्वास लिइएको छ । हरेक बर्ष चोरी सिकार हुने भएपछि झारल, नावर, घोरल जस्ता जंगली जनावर मासिदै गएका थिए, भने अर्को तर्फ सिकार खेल्न आउने पर्यटकको संख्या घट्दै गएको थियो ।

पर्यटन मार्फत गाउँको विकासका लागि पनि बन्दुक हटाउनुपर्ने भएकाले लामो समयदेखि बन्दुक हटाउने प्रयास गाउँलेले गरेका थिए । अब गाउँमा बन्दुक नभएको दावी समितिको छ । यद्यपी छिमेकी गाउँ तथा अन्य ठाउँमा रहेका बन्दुक पनि क्रमस ल्याइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया