ख्रीष्टियन महासंघमा अर्को भुकम्प, हालसम्म २६ जनाले दिए राजिनामा

७ बर्ष अगाडि

 

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै महासचिवलगायत १४ पदाधिकारीहरूले सामूहिक राजिनामा दिएको केही महिना नबित्दै फेरि १२ जना केन्द्रिय सदस्यहरुले अघिल्लो सुझाव प्रतिवेदनप्रति ऐक्यवद्धता जनाउँदै राजधानीमा पास्टर तथा अगुवाहरूको एक भेलाको आयोजना गरी आफूहरूले महासंघबाट राजिनामा दिनुका कारणबारे स्पष्ट पारेका छन् ।

महासंघमा पछिल्लो समय नेतृत्वको विषयमा विवाद बढ्दै गएको र संस्थामा देखिएको समस्या समाधानप्रति पटक पटक ध्यानाकर्षण गराउँदा समेत मुल नेतृत्व संस्था सुधारको विषयमा गम्भिर नदेखिएकाले राजीनामा दिन बाध्य भएको आयोजकले स्पस्ट पारेको हो । शामुएल सोदेम्बाको सभापतित्वमा सम्पन्न भएको भेलाले आयोजकको तर्फबाट किरण कुमार दासले भेलाको विषयवस्तुमा प्रवेश गर्दै आफूहरूको महासंघको मुल नेतृत्वसँग रहेको २० बुँदे असहमतिका बुँदाबारे स्पष्ट पार्नुभएको थियो ।  उहाँले राष्ट्रिय एकतासहितको नैतिक समर्थन प्राप्त सञ्जाल निर्माणको खाँचो रहेको बताउनु भयो ।

भेलामा सहभागीलाई स्वागत गर्दै चन्द्रमान नेपालीले महासंघको वर्तमान नेतृत्वप्रति सम्पूर्ण सचिवालय नै असन्तुष्ट रहेको अवस्थामा नेतृत्वले छलफलमा ल्याइएको ध्यानाकर्षण पत्रको वेवास्ता गरेको र महासंघमा सुधार ल्याउन प्रयास गर्दा नेतृत्वले उल्टो पदाधिकारी निलम्बन र कारबाहीमा उत्रने मनसाय देखाएपछि सम्झौता गरेर महासंघमा बसिरहन नैतिकताले नदिएको भन्दै महासंघबाट राजीनामा दिनुपरेको बताउनुभयो । भेलामा नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफएन), नेपाल ख्रीष्टियन समाज (एनसिएस),नेपाल बप्तिस मण्डली परिषद्, एसेम्बलिज अफ गड नेपाल, विभिन्न सम्प्रदायका प्रतिनिधि लगायत उपत्यकाका शिर्षस्थ पास्टर अगुवाहरूको सहभागिता थियो । अधिकाशं बोल्ने वक्ताहरूले ख्रीष्टियन समुदायको एकताको पक्षमा मिश्रित धारणा राख्दै अहिलेको आवश्यकता भनेको ख्रीष्टियन समुदायको नैतिक समर्थन प्राप्त एकिकृत आवाज भएकोले ख्रीष्टियन समुदायविरूद्धको आक्रमण रोक्न एकताको विकल्प छैन र विश्वमान चित्रको एकता र मेलमिलापको घटनालाई विचार गरेर अघि बढ्न भेला आयोजकलाई आग्रह गर्नुभएको थियो । भेलाका संयोजक सोदेम्बाले यो भेला महासंघको विरूद्ध नभई समुदायलाई राजीनामा दिनुको कारण र सत्य तथ्य बताउन बोलाइएको स्पस्ट पार्नुभयो ।

अन्तिम प्रार्थना अब्दियल मुखियाले गर्नु भएको भेलाको सञ्चालन पदमनाथ पराजुलीले गर्नुभएको थियो । महासंघको ११ औं राष्ट्रिय भेला सम्पन्न भएको हप्ता दिन नवित्दै महासंघका अन्य सदस्यहरूबाट समेत राजीनामा आउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया