यार्सागुम्बा टिप्न जानेले बढाए फोहर, के हो यार्सागुम्वा ?

५ बर्ष अगाडि

काठमाडौं - यार्सागुम्बा सङ्कलनका लागि डोल्पाका पाटन तथा हिमालहरुमा ठूलो सङ्ख्यामा मानिस जाने गर्दछन् । जाजरकोट, जुम्ला, डोल्पा, सल्यान, रुकुम पश्चिम, कालीकोट र दैलेखबाट मानिसहरु डोल्पाका पाटनमा पुग्ने गर्दछन् । 

उनीहरुले साथैमा लाने खानेकुरा तथा अन्य सामग्रीको फोहर पनि त्यही फालिदिने गरेका छन् । सरसफाइ गर्नुपर्नेतर्फ कसैको ध्यान नजाने र सरोकार भएका निकायबाट जानकारी पनि नगराउदा फोहर थुप्रिनुमा मुख्य कारण रहेको छ । 

यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको भएपनि सङ्कलन कार्य शुरु भएको धेरै समय भएको छैन । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका बताइन्छ । विभिन्न जडिबुटीका रूपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर सार्वजनिक जानकारीमा ल्याइएको भने त्यति धेरै नभएको बताइन्छ । 

यार्सागुम्बाको पहिलो पटक सङ्कलन कार्य सन् १९५२ मा ब्रिटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति सङ्कलन गर्न आएका पोलुनिन साइकल र विलियमले गरेका थिए । उनीहरूले चार हजार २०० मिटरको उचाइमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए । 

के हो यार्सागुम्वा ?
यार्सागुम्बा भनेको हिमाली भेगमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविद्हरूका अनुसार यो छ महिना किरा र छ महिना बनस्पति भएर रहन्छ । 

त्यसरी हेर्दा बनस्पति जिवीत रहे प्राणी मर्ने र प्राणी जिवीत रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । 

यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिँडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसकेपछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवीत रहन्छ माटो मुनी मर्छ । 

माटोमाथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ र यसको रङ्ग कालो हुन्छ । जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वालभित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना लामा लामा बीऊ हुन्छन् । 

यसमा दुई भाग हुन्छन् । जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो । विभिन्न वनस्पतिसम्बन्धी पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । तीमध्ये जापानमा ३०, ब्रिटेनमा १२, भारतमा सात र चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइने गरेको बताइन्छ  । 
 
नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा र मनाङ  जिल्लामा पाइन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया