काठमाडौं– पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ्ग मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ्गमार्गको युगमा प्रवेश गरेको सरकारको भनाइ छ । आधुनिक सुरुङ्गमार्ग नेपालीका लागि सपना नभइ वास्तविकतामा रुपान्तरित हुँदै गइरहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । उनले भौगोलिक विकटताका कारण लम्बिएको यात्रा सुरुङ्गमार्गले छोटो बनाउने र यात्रा लागत घट्ने बताउँदै अब बन्ने सडकमा सुरुङ्ग प्रविधिको प्रयोगलाई महत्त्वका साथ अवलम्बन गरिने बताए ।
बजेटमा यस्तो छ व्यवस्था
काठमाण्डौको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङ्गमार्ग निर्माण कार्यलाई तीव्रता दिई दुई वर्षभित्र सञ्चालनमा ल्याइनेछ। यस आयोजनाका लागि रु.९ अर्ब ८५ करोड विनियोजन गरिएको छ।
आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धवावा–दोभान खण्ड, दोलखाको लामावगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान(लेउती सुरुङ्ग मार्ग निर्माण प्रारम्भ गर्न बजेट व्यवस्था गरिएको छ।
काठमाण्डौ कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने–जडिवुटी खण्डमा सुरुङ्ग मार्ग निर्माण गर्न रु.१ अर्ब ८० करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष टोखा–छहरे–गुर्जुभज्याङ, वेत्रावती–स्याफ्रुवेशी, खुर्कोट–चियावारी र थानकोट–चित्लाङ्ग सुरुङ्गमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिनेछ।
पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ्ग राजमार्गको दुम्लिङ्ग–वाङ्गसिङ्ग, पूर्ब–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र विपिनगर–खुटिया–दिपायल खण्डमा सुरुङ्गमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।
प्रतिक्रिया