काठमाडौं - सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ ।
अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बसहरु बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा छन् भने बसमा चालक र सहचालक भएर जिविका चलाइरहेका मजदूरहरु अहिले अलपत्र छन् ।
भारतसित सीमान जोडिएको कञ्चनपुरबाट महेन्द्रनगर– नयाँ दिल्ली, महेन्द्रनगर–हरिद्धार र महेन्द्रनगर–देहरादुन रुटमा चल्ने यातायात अझ बढी चौपट भएका छन् ।
कोरोना नियन्त्रणका लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेयता यहाँबाट भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका बसहरु झण्डै २२ महिनादेखि बन्द छन् । “ महाकाली याातायातका मात्रै १९ वटा गाडी भारत चल्थे”, पन्तले भने, “ बैंकहरुले कर्जा असुली निरन्तरता दिँदा बस साहुहरु निकै तनावमा छन् ।”
महाकाली यातायातसँगै यहाँ रहेको पवनदुत र शुक्लाफाँटा यातायातको अवस्था पनि उस्तै कहालीलाग्दो छ । करिब सात सय भन्दा बढी सार्वजनिक यातायात रहेको कञ्चनपुरमा अहिले भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाँच देखि सात वटा बस सञ्चालनमा रहेको अध्यक्ष पन्तको भनाइ छ ।
उनले भारतबाट फर्किरहेका दैनिक सयौं यात्रुहरु लिएर बस मजदूरहरु काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, दैलेखका साथै सुुदूरपश्चिमका पहाडी जिल्लासम्म पुगिरहेको बताए ।
लामो समयदेखि कोरोना कहरको मार खेपिरहेका बस व्यवसायीहरुलाई सहुलियत हुने खालका प्याकेजहरु सरकारले ल्याइदिनुपर्ने व्यवसायीहरुको माग छ ।
उनीहरुले यातायात क्षेत्र नराम्ररी प्रभावित हुँदा आफूहरुले पेशा नै परिर्वतन गर्नुपर्ने अवस्थामा पुग्ने अवस्था आइरहेको पीडा पोखेका छन् । त्यसैगरी महाकाली यातायत समितिका पूर्व अध्यक्ष नवीन भट्टले कोरोना कहरले यातायात क्षेत्र निकै प्रभावित बनेको बताए ।
प्रतिक्रिया