काठमाडौ - काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा आजबाट थप कडाइ गरिने भएको छ ।
हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।
यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।
निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गरिने जानकारी दिनुहुँदै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई शुक्रबारदेखि जरिवाना लिन सुरु गरिने बताउए । निषेधाज्ञा उल्लङ्घनको प्रकृतिअनुसार व्यक्तिलाई एक सयदेखि पाँच सय रुपियाँसम्म र सवारीसाधनलाई पाँच सयदेखि पाँच हजार रुपियाँ जरिवाना तिराइने उनले स्पष्ट पारे ।
काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले केही दिनअघि काठमाडौँ उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन् ।
अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।
प्रतिक्रिया