अक्सिजन र स्वास्थ्य सामग्री लिएर मन्त्री ज्ञवालीका स्वकीय सचिव गाउँमा

५ बर्ष अगाडि

काठमाडौं – कोभिड १९ को उपचार तथा रोकथामका लागि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गृह जिल्ला गुल्मीका १० स्थानीय तह र जिल्ला अस्पताल का लागि अक्सिजन सहित विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । 

मन्त्री ज्ञवालीले  गुल्मी जिल्लाका लागि  ६० वटा अक्सिजन सिलिन्डर, ९ अक्सिजन कन्सन्ट्रेटर, ६ हजार सर्जिकल मास्क, ६० लिटर सेनिटाइजर, एन–९५ मास्क पाँच सयवटा, गाउन र पीपीई दुई/दुई सय थान, एन्टिजेन कीट एक हजार पाँच सय तथा पाँच वटा बेड, पल्स अक्सिमिटर,  ग्लाेब्स, चस्मा, एन्टीजिन किट, भाइरल ट्रान्सपोर्ट मेडिएम, भीटीएम, लगायतका  स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।  

स्वास्थ्य सामग्री लिएर गुल्मी पुगेका स्वकीय सचिव जंग नेपालीले गुल्मी अस्पतालका सामग्री प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालाई तथा रेसुङ्गा नगरपालिका, गुल्मी दरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिका लगायतका स्थानीय तहमा आफै पुगेर सामग्री हस्तान्तरण गरेका छन् । गुल्मी जिल्लालाई कोरोना भाइरसको महामारीबाट सामान्य अवस्थामा फर्काउन मन्त्री ज्ञवालीले आफ्नो ठाउँबाट पहल गरिरहेको नेपालीले बताए । 

सामग्री बुझेपछि गुल्मी अस्पतालका अध्यक्ष गोपाल प्रसाद पाण्डेले महामारीको समयमा मन्त्री ज्ञवालीले गुल्मीमा पीसीआर मेसिन, अक्सिजन प्लान्ट, आईसीयू , अक्सिजन सिलिन्डर, औषधीजन्य सामान लगायत करोडौँको स्वास्थ्य सामग्री उपलब्ध गराएर ठूलो सहयोग गरेको बताए । उनले जिल्लामा बिरामीको उपचारमा कमी हुन नदिन मन्त्री ज्ञवालीले गरेको पहल जिल्लावासीले कहिल्यै नबिर्सने पनि बताए ।   

स्थानीय तहहरुसँग स्वास्थ्य सामग्रीको लागि समन्वय गरेका नेकपा एमाले गुल्मी काठमाडौँ क्षेत्रीय सम्पर्क मञ्चका अध्यक्ष डा. नगेन्द्र अर्यालले स्थानीय तहको माग अनुसारको यसपटक सामग्री पठाइएको बताए । उनले अवस्था हेरिकन माग अनुसार थप सामग्री पनि पठाइने पनि बताए । 

जिल्लाका स्थानीय तहहरूले पनि अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा मन्त्री ज्ञवालीलाई धन्यवाद दिएका छन् । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया