राेल्पा - पूर्व ऊर्जामन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनकाे कम्पनीले अक्सिजन सिलिण्डरमा कालाेबजारी गरेकाे फेला परेकाे छ । पुनले गृह जिल्ला रोल्पाकाे अस्पताल र गाउँपालिकाहरूमा प्रति सिलिण्डर १२ हजार मूल्य पर्ने अक्सिजन सिलिण्डर २९ हजार ३ सय ८० मा बेचेर कालाेबजारी गरेकाे फेला परेकाे हाे ।
पुनले आफ्नो सचिवालयका कर्मचारी भिमकान्त भण्डारीलाई विध म्यानेजमेन्ट प्रालि खोलिदिएका छन् । साेही कम्पनीमार्फत ७८ वटा अक्सिजन सिलिन्डर निःशुल्क दिएकाे भन्दै पुनका स्वकीय सचिव सन्ताेष पुनले प्रचार गरेका थिए । तर निःशुल्क दिएकाे नभइ सन्तोषले आफै सिलिन्डर बोकेर स्थानीय तहलाई बेचिरहेकाे गाउँपालिकाहरूले बताएका छन् ।

शुरुमा सन्तोषले पूर्वमन्त्री पुनले गाउँपालिकाहरूलाई पठाइदिएको सिलिन्डर भन्दै सदरमुकाममा प्रचार गरेका थिए । त्यसपछि गाउँपालिकासँग समन्वय गर्दै सिलिन्डर हस्तान्तरण गरेपनि । तर पछि उनले यसको शुल्क लाग्ने भन्दै बिल थमाएको गाउँपालिकाहरूले गुनासो गरेका छन् ।
‘हामीले निःशुल्क भनेर हाम्रै नेताले पठाउनुभयो भनेर सिलिन्डर लियौँ, तर पछि बिल थमाइयो’, नाम नबताउने शर्तमा एक पालिका अध्यक्षले भने, ‘विरोध गर्नु आफ्नै नेता, नगर्नु फसाए ।’ तर सन्तोषले आफ्नो फेसबुकमा भने पूर्वमन्त्री वर्षमान पुनको विशेष पहलमा रोल्पा जिल्लामा बढ्दो कोराना सङ्क्रमणको नियन्त्रण र जिल्लावासीको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै जिल्ला अस्पताल र गाउँपालिकाहरूको लागि अत्यावश्यक (७६ वटा) अक्सिजन सिलिन्डर दिएको भन्दै निःशुल्क दिएको भान पर्ने गरी प्रचार गरेका छन् ।
सन्तोषले रोल्पाका ९ स्थानीय तहमध्ये प्राप्त जानकारी अनुसार सिलिन्डर किन्ने गाउँपालिकामध्ये माओवादीले जितेका ५ र कांग्रेसले जितेको एउटा गाउँपालिकामा सिलिन्डर बचेपनि एमालेले जितेको त्रिवेणी,रुन्टीगढी र सुनछहरीलाई भने पोल खुल्ने डरले कुनै जानकारी नगराएको ति गाउँपालिका अध्यक्षहरुले बताएका छन् ।
एमाले जिल्ला अध्यक्ष तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले सन्तोष पुनले सिलिन्डर जिल्लामा पुर्याएर शुरुमा निःशुल्क दिएको प्रचार गरेको तर आफूहरूलाई नसोधेको बताए । ‘मैले सिलिन्डरहरू बाँडेको थाहा पाएपछि वर्षमान जीलाई सम्पर्क गर्दा सम्पर्क भएन, प्रदेश माननीय सिजलजीलाई फोन गरेर यदी सरकारले सिलिन्डर दिएको हो भने सबै स्थानीय तहलाई समान तरिकाले उपलब्ध गराउनुस् भनेँर कुरा राखेँ’, बुढाले भने, ‘पछि सन्तोष पुनले आफै फोन गरेर सिलिन्डर बिक्रिका लागि हो, तपाईँलाई कति आवस्यक छ भनेर सोधेपछि हामीसँग स्टक छ, किन्नुपर्ने छैन, यदी किन्ने नै भए बिचौलियासँग किन किन्नु भनेर किनेनौँ ।’
एमाले कार्यकर्ताहरुले रोल्पामा सरकारले निःशुल्क दिएका सिलिन्डर वर्षमान पुनले बेचेको र आफूले ल्याएको भन्दै प्रचार गरेको आरोप लगाएपछि सन्तोसले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर त्यसको खण्डन गरेका छन् । उनले केन्द्र र प्रदेशको पहलकदमीमा जिल्लाका स्थानीय तहसम्म अक्सिजन सिलिन्डर पुर्याउन सम्भव नदेखिएकोले स्थानीय तहहरुले आफ्नो कोरोना अस्थायी अस्पताल र आइसोलेसन सेन्टरको लागि अक्सिजन उपलब्ध गराउन वर्षमानसँग अनुरोध गरेपछि उनको पहलमा रोल्पामा दुई चरणमा अक्सिजन सिलिन्डर पुगेको सन्तोषले लेखेका छन् ।
‘दिनको घाम जतिकै छर्लङ्ग यस्तो तथ्यलाई तोड्मरोड गर्दै जनताको प्रिय नेताको राजनीतिक बदनाम गर्ने उद्देश्य प्रेरित सामाचारको खण्डन गर्दै खोटो सोचप्रती खेद प्रकट गर्दछु’, उनले लेखेका छन्, ‘पूर्वमन्त्रीले अनुदानको सिलिन्डर बेचे भन्ने जस्ता हावादारी, कपोकल्पित र हास्यास्पद टिप्पणी गर्न पनि कसरी सकेको होला ?’ १५ हजार मूल्य पर्ने सिलिन्डर २९ हजार भन्दा धेरैमा बेचेर सन्तोषले मन्त्रीले जनताको सेवा गरेको भन्दै आलोचना गर्नेलाई निच र पाखण्डी हर्कत भनेका छन् । यसबारे सन्तोषसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । विपद्को समयमा अरुका नाममा कम्पनी खोलेर ब्यापार गर्ने र जनता झुक्याउने पुनको हर्कतको चौतर्फी आलोचना भएको छ ।
प्रतिक्रिया