काठमाडौं - उपत्यकामा जेठ १४ गतेदेखि जेठ २० गतेसम्मका लागि थप कडाइका साथ निषेधाज्ञा जारी गरिएको छ । १४ गतेदेखि खाद्यान्नका पसलहरू पनि बन्द गरिने भएको हो । यद्यपि, माछा, मासु, दुग्ध र तरकारीजन्य पसलहरू भने खुला नै रहने भएका छन् ।
एकातर्फ, सरकारको यो निर्णयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । अर्कोतर्फ, आज र भोलि (१३ र १४ गते) खाद्यान्नको पसलमा भिड हुने र दुग्धजन्य पसलहरू दुई घण्टा मात्रै खुला गर्न दिँदा यसले भिड गराएर झन् संक्रमण बढाउन सक्ने भन्दै टिप्पणी भइरहेका छन् ।
खाद्यान्नको पसल समेत बन्द गर्ने निर्णयको आलोचना भइरहेको छ भनेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग कुरा गर्दा उनले यो गलत अर्थमा लिन हुने कदम चाहिँ नभएको बताएका छन् ।
सङ्क्रमण नियन्त्रणकै लागि यस्तो पहल चालिएको उनले बताए । एक हप्ताका लागि दाल र चामल धेरै जसोसँग रहेकै हुने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढिरहेका बेला नियन्त्रणका लागि १५ दिन नै कडा गर्न निर्देशन दिए पनि आफूहरूले सबैकुराहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको सिडिओ पराजुलीले बताए ।
प्रतिक्रिया