काठमाडौं, ईदमा रिलिज भएको अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ लाई दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । फिल्मले रिलिजको पहिलो दिन नै १ सय ८ करोड कमाएको थियो । फिल्म सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको हो ।
धेरैले ‘राधे’ को कथावस्तु र प्रस्तुतिलाई लिएर आलोचना गरेका थिए । यसमध्ये एक हुन्, समीक्षक कमाल आर खान (केआरके) हुन । उनले फिल्मको मध्यान्तरमा नै एक भिडियो सार्वजनिक गर्दै फिल्म झुर रहेको प्रतिक्रिया दिएका थिए भने ट्विटरमा पनि फिल्मलाई नराम्रो भन्न कुनै कसर बाँकी राखेका थिएनन् । अब उनैलाई सलमानको लिगल टिमले अदालतमा मानहानीको मुद्धा हालेको छ ।
केआरकेले ट्विटर ह्यान्डलमार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सलमान खानले ‘राधे’ को रिभ्यूका कारण मेरो विरुद्ध मानहानीका मुद्धा हालेका छन् । अब म सलमान खानको कुनै पनि फिल्मको रिभ्यू गर्दिनँ ।’ उनले ट्विटरमा अर्को पोस्ट गर्दै सलमान खानलाई फिल्मको रिभ्यूले आहत पुर्याएका कारण अब कहिल्यै उनको फिल्मको रिभ्यू नगर्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया