पूर्वीमध्य बंगालखको खाडीमा रहेको शक्तिशाली चक्रवात यास उत्तर–पश्चिम सर्ने क्रममा आज (मंगलबार) बेलुकासम्म धेरै शक्तिशाली हुने देखिएको हाम्रा मौसमविद्ले बताएका छन्।
जसको असर नेपालमा पनि बिहानैदेखि सुरु भइसकेकाले सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार यासको प्रभावले अहिले पूर्वी र मध्य तराईका धेरै जिल्लामा वर्षा भइरहेको छ।
यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । ‘चक्रवात यास’ उत्तरउत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।
चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ । मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बुधबारदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया