काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाले निरन्तरता पाउने भएको छ। निषेधाज्ञा जारी हुँदा पनि संक्रमितको सङ्ख्या अपेक्षा गरेअनुसार नघटेपछि कडा मापदण्डका साथ निषेधाज्ञाको अवधी कम्तिमा एक महिनाको लागि थपिने भएको हो।
कोरोना भाइरसको दोस्रो लहर पश्चात सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेपनि संक्रमित हुनेको सङ्ख्या नघटेपछि अहिले कम्तिमा १५ दिनको लागि निषेधाज्ञा थपिन लागेको हो।
एकै पटक एक महिनाको लागि निषेधाज्ञाको अवधि थप्दा सर्वसाधारणमा त्रासको माहोल सृजना हुन सक्ने भएकाले अहिलेलाई कम्तिमा १५ दिनको लागि निषेधाज्ञा थप्न लागिएको स्रोतले जनाएको छ।
यहि बिषयमा निर्णय लिनको लागि भोलि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुले भर्चुअल बैठक समेत डाकेका छन्। फेरी निषेधाज्ञाको अवधि थप्नुको विकल्प नभएकाले अहिलेनै १५ दिन निषेधाज्ञा थप्ने निर्णय सिडियोबाट आउने स्रोतको दाबी छ। ललितपुरका सिडिओ डुण्डीप्रसाद निरौलाले भोलि सिडियोहरुको बैठक रहेको पुष्टि गरेका छन्।
काठमाडौं उपत्यकामा १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो। २२ वैशाखमा पुनस् एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनस् दुई साताका लागि थपिएको थियो। थपिएको निषेधाज्ञाको अवधि पनि यहि १३ गते सकिदैछ।
देशभर २४ घन्टामा संक्रमित हुनेको सङ्ख्या ५०० मा नझर्दा सम्म लकडाउन गर्ने संघीय सरकारको रणनीति रहेकाले काठमाडौं उपत्यका सहितका जिल्लाहरुमा निषेधाज्ञालाई कडा पारिने भएको छ।
प्रतिक्रिया