गुल्मी– अक्सिजन प्लान्ट स्थापना गर्न नेपाल पत्रकार महासंघ गुल्मीले रु ६० लाख संकलन गरेर गुल्मी जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ ।
सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।
अस्पतालमा अक्सिजन अभाव भएपछि महासंघले २५ बैशाखबाट शुरु गरेको अक्सिजन अभियान अन्तर्गत देश तथा विदेशमा रहेकाहरुबाट सो रकम संकलन गरेको हो ।
यसअघि महासंघले पाँच लाख रुपैयाँ बराबरको २० वटा सिलिन्डर खरिद गरी अक्सिजन भरेर अस्पतालाई प्रदान गरेको थियो । अभियान अन्तर्गत करिब ७० लाख रुपैयाँ संकलन भएकोमा केही रकम बैंक बन्द भएको कारण जम्मा गर्न बाँकी रहेको महासंघले जनाएको छ ।
गुल्मीमा अक्सिजन प्लाण्टका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सरकारले १ करोड दिएको छ । सरकारको एक करोेड र महासंघको ६० लाख समेत डेढ करोड हाराहारीको लगानीमा अक्सिजन प्लाण्ट स्थापना गर्न थालिएको अभियानका सदस्य हुमाकान्त पाेखरेलले बताए ।
जिल्लामा कोभिडका बिरामीलाई उपचारका साथै भविष्यमा पनि सय शैयाको जिल्ला अस्पताल, १२ स्थानीय तहमा १५/१५ शैयाको अस्पतालहरुको अक्सिजन आपूर्तिलाई मध्यनजर गर्दै प्लाण्ट स्थापना गर्न लागिएको महासंघका अध्यक्ष उनकाे भनाइ छ ।
गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या, नेपाली कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, एमाले नेता कृष्ण सुनार, हिरा एसी, माओवादी केन्द्रका नेता विर बहादुर कार्की लगायतले पत्रकारले संचालन गरेको अभियानले राज्यको समेत आँखा खोल्दिएकोमा उच्च प्रसंसा गरे ।
प्रतिक्रिया