काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली पार्टीको वैधानिक अध्यक्ष नभएकाले आफूहरूलाई सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।
रावलले ओलीले पर्टीभित्र हैकमवाद चलाएको भन्दै आफूहरूले त्यसको विरोध गर्ने बताए । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठकले स्पष्टीकरण नदिने निर्णय गरेको हो ।
नवौं महाधिवेशनको कमिटीले स्पष्टीकरण सोध्न सक्ने भए पनि प्रधानमन्त्री ओलीका तजबिजमा बनेका कमिटीले सोध्न नसक्ने रावलको भनाइ छ ।
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । पार्टी विधान र लोकतन्त्र विरोधी काम गरेकाले जनताले नै ओलीलाई स्पष्टीकरण सोध्ने रावलको चेतावनी छ ।
आफूहरूले जेठ २ मा फर्किनु पर्ने अडान कायमै राखेको भन्दै उनले अब यतिले मात्रै नपुग्ने बताए । ओलीले आफूले गरेका गलत काम सच्याउनु पर्ने र आत्मालोचना गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया