काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । आफ्ना तीन बुँदे माग अघि सार्दै डा केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने, सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग गरे ।
पत्रकार सम्मेलनमा डा केसीले जनता मुखी र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि बारम्बर सत्याग्रहसहितका आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला भ्रष्ट र माफियाहरुका स्वार्थका कारण जारी हुन नसकेको गुनासो गरे ।
आफ्नो साउनको सत्याग्रहका क्रममा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनुपर्ने विषय उल्लेख भएको भएपनि मेडिकल माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाए ।
प्रतिक्रिया