एनसेल आजियाटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा एनसेलले स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो ।
कोभिड–१९ विरुद्ध लड्न सहयोगस्वरुप सरकारलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एनसेलले जानकारी दिएको छ ।
यी अक्सिजन कन्सन्ट्रेटर कोभिड बिरामीको उपचारका लागि अक्सिजन अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालमा हस्तान्तरण गरिनेछ ।
अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितिमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन ठूलो महत्त्व राख्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटरको पहिलो लटअन्तर्गतका कन्सन्ट्रेटर सरकारलाई सहयोग गरिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए । उनले भने “देशका जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमुल्य जीवन बचाउँन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौं । एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी शुरु भए लगतै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं । कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेका छौं । यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहँु स्वास्थ्य परामर्श प्रदान गर्दछ ।”
एनसेलको सामाजिक पहल अन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगको सहकार्यमा गत वर्ष देखिनै कोरोभाइरसबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिबृद्घिका सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाह गर्दै आएको छ ।
सन् २०२० मा एनसेलले कोभिड प्रतिकार्य अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० करोड योगदान सहित गरीरु ९.७० अर्ब बराबरको सेवा, सुविधा र योगदान पुर्याएको थियो ।
कोरोनाको दोस्रो लहरले सिर्जना गरेको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउन एनसेलले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया