काठमाडौं, पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले सवैधानिक आयोगका पदाधिकारी नियुक्ति दलीय भागबण्डामा नभई क्षमता र विज्ञताका आधारमा हुनुपर्ने धारणा राखेका छन । उनले भने, “निर्वाचन निष्पक्ष भएन भने समाजमा विखण्डन र विभाजन ल्याउँछ, नियुक्ती पाएका व्यक्तिले दल र नेताप्रति नभई संस्था उत्तरदायी भएमा सुशासन प्रवद्र्धन र लोकतन्त्र सुदृढ हुन्छ ।”
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नतिजा घोषणा गरेर मात्र नभइ कति गुणस्तरको निर्वाचन भयो भन्ने पाटोमा हेरिनुपर्नेमा जोड दिए । उनले भने, “राजनीति नेतामा जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने सोचलाई हटाउन प्रजातन्त्रको इजलासका रुपमा रहेको आयोगले निर्भिक भएर काम गर्न सक्नुपर्छ, प्राप्त अधिकार र प्रयोगबीच देखिएको तालमेलको पनि अनुगमन गरिनुपर्छ, आयोगले अहिलै प्राप्त भइरहेको अधिकारको उच्चतम प्रयोग गरोस् ।”
पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचनलाई सर्वस्वीकार्य गर्न सबै सरोकारवाला निकायको पूर्णसहयोग र सहभागिता आवश्यक पर्ने धारणा राखे । उनले भने, “विश्वमै दुई वटा सविधानसभा, एकै वर्ष विभिन्न तहका पाँच निर्वाचन गरी उदाहरणीय प्रस्तुत गरेको विश्वासको धरोहरका रुपमा रहेको आयोगले निर्वाचनलाई मितव्ययी बनाउन, आचारसंहिता र अरु कानून पालना गराउन कडाईका साथ प्रस्तुत हुनुपर्छ, आयोगलाई स्वायत्त बनाउनुपर्छ ।”
प्रतिक्रिया