अहिले देशभरको मौसम पूर्ण बदली भई धेरैजसो स्थानमा पानी परिरहेको छ।भारतको ताउ–ते चक्रवातको प्रभाबले गर्दा आज देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थानमा पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।
बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको संभावना छ। हिजोदेखि सुरु भएको पानी पर्ने क्रम भोलिसम्म जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार भारतको राजस्थान आसपास रहेको चक्रवातको असर भने क्रमश कमजोर हुने क्रममा रहेको छ। आजभन्दा भोलि थप कमजोर बन्दै जाने मौसमविद् शाक्यले बताइन्।
आज देशका अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेकोले यस क्षेत्रका स्थानीयलाई सजग रहन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया