डडेलधुरा बस दुर्घटना, जव बालकले आमा खोजे…

७ बर्ष अगाडि

काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक आमा, आमा…. भन्दै रोइरहेका छन् ।
गत बिहीबार डडेलधुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भयो । संयोगले उनका छोरा नवीन बाच्न सफल भए ।

नवीनलाई दुर्घटनामा परी आमा कहिल्यै नफर्कने गरी गएको थाहा छैन । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ । त्यसैले, बेडमा रुँदै खोजिरहेका छन्, आमा..आमा..आमा.. ।
डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसैमध्येका एक घाइते हुन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या छ । आर्थिक अवस्था खराब मात्रै होइन उनको हेरबिचार गरिदने पनि कोही छैन ।

चिकित्सकले नवीनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । तर उनीसँग न त उपचारमा साथ दिने परिवार छ न सम्पत्ति नै । आमाको दुर्घटनामा परी मृत्यु भयो । 

दिदी दिपा विक घाइते अवस्थामा छिन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुबा नौ वर्षअघिदेखि नै घरपरिवारको सम्पर्कमा छैनन् । १४ वर्षीय दाइ मुकेश विक बालमजदुर हुन् । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया