ओमानबाट ल्याइएको ५ सय ६० अक्सिजन सिलिन्डर सरकारलाई हस्तान्तरण

५ बर्ष अगाडि

खाडी मुलुकमा कार्यरत श्रमिकले पठाएको ५६० वटा अक्सिजन सिलिन्डर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले मन्त्री हृदयेश त्रिपाठीलाई सो अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।  

सो सिलिन्डरहरू सुदूरपश्चिममा  १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा  ८५ र गण्डकी प्रदेशमा ७५ वटा वितरण गरिने अध्यक्ष पन्तले जानकारी दिए ।  नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत थप सहायता पनि आउने बताइएको छ । एनआरएनएले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर समेत तत्कालै उपलब्ध गराउने बताइएको छ । 

नेपालमा अक्सिजनको चरम अभाव भएको खबरपछि खाडीमा सहयोग संकलन गरेर अक्सिजन सिलिन्डर खरिद गरिएको थियो भने शनिबार नेपाल एयरलाइन्सको जहाजमा  स्वदेश ल्याइएको थियो ।  गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो ।

उनका अनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैया बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको थियो ।  मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल ल्याउने अभियानमा विशेष पहलकदमी  ओमानका लागि नेपाली राजदूत  शर्मिला पराजुली ढकालले लिएकी थिइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया