प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२ हजार छ सयभन्दा बढी पुगेको छ। प्रदेश १को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रवारसम्म ४२ हजार छ सयभन्दा बढी सङ्क्रमित देखाएको हो ।
तीमध्ये ३० हजार ७ सय सङ्क्रमणमुक्त भैसकेका छन्।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजारभन्दा बढी छ। तीमध्ये करिब पाँच सय सङ्क्रमित विभिन्न अस्पतालहरूमा उपचाररत छन्।
प्रदेश १ मा कोभिड १९ का कारणबाट शुक्रवारसम्म ६२७ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना सङ्क्रमित बिरामीहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको अभाव पनि बढ्दै गएको छ ।
दिनप्रतिदिन जटिल प्रकारका बिरामीहरू थपिँदै जाँदा अस्पतालमा शय्याहरू पनि थपिने तर जनशक्ति नथपिँदा उपचारका लागि धौ–धौ पर्न थालेको चिकित्सकहरू बताउँछन्।
प्रदेश १ मा विराटनगरस्थित कोशी कोभिड(१९ उपचार केन्द्र, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची अस्पतालसहित केही निजी अस्पतालहरूमा कोरोना सङ्क्रमितहरूको उपचार हुँदै आएको छ।
अन्य प्रदेशमा अक्सिजन र शय्याको चरम अभाव देखिए पनि प्रदेश १ मा हालसम्म त्यस्तो अवस्था नरहेको बताइएको छ ।
प्रतिक्रिया