काठमाडौं– प्रधनमन्त्रीले आज सभाहलको उद्घाटन गरेका छन् । आजै सपथ ग्रहण गरेका प्रधानमन्त्रीले हतारमै उद्घाटन कार्यक्रममा सहभागी भए । कुनै पनि आयोजना पूरा नहुँदै नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिँदै गर्दा संसद्मै आलोचना भयो ।
अल्पमतको प्रधानमन्त्रीको रुपमा सपथ लिएपछि प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ फर्काए – सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएका छन् । प्रधानमन्त्री ओलीले धरहराको निर्माण कार्य पूर्णरुपमा सम्पन्न नहुँदै उद्घाटन गरेकोमा आलोचना गरिएको थियो ।
शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै भने, ‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’
प्रधानमन्त्रीले यसो बताइरहँदा आज उद्घाटन गरेको सभाहलको पनि धरहराभन्दा फरक दृश्य थिएन । हतारहतारमा उद्घाटनका लागि सभाहललाई तयार गरिएको प्रष्ट देखिन्थ्यो । भवनबाहिर थुप्रै निर्माण कार्य बाँकी रहेको थियो भने भवनभित्र पनि सिलिङदेखि लिएर भुइँसम्मका निर्माण कार्य सकिएको थिएन । यतिसम्म कि स्क्रिनमा देखाउनका लागि चिटिक्क पारेर सजाइएको सिटहरुको नटबल्टु कस्न समेत भ्याइएको थिएन ।
प्रतिक्रिया